२० असाेज २०७९, बिहीबार
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता
  • मध्यमार्ग

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो ३ बजे भएको भेटमा महानिर्देशक टेड्रोसले कोभिड–१९ महामारीबीच नेपालले गरेको कामको प्रशंसा गर्दै खोपको कार्यक्रमको सफलताका लागि सबै नेपालीलाई बधाई दिएका छन् ।

मन्त्रालयका अनुसार उनले नेपाललाई डा. गेहब्रेयससले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप सहयोगका लागि प्रतिबद्धता जनाउँदै हेटौँडामा भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई संगठनको सहयोगमा दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो किटजन्य अनुसन्धान केन्द्र बनाउने भन्नेमा छिट्टै कार्यदल बनाएर सम्बोधन गरिने बताएका छन् ।

त्यस्तै, डा. गेहब्रेयसस नेपालमा सर्जिकल सामान उत्पादनमा सहयोग गर्नेमा पनि सकारात्मक देखिएका छन् ।

भेटमा स्वास्थ्यमन्त्री खतिवडाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको ‘जिन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकोमा विश्व स्वास्थ्य संगठनप्रति धन्यवाद ज्ञापन गरे ।

करिब २५ मिनेटको भेटवार्तामा स्वास्थ्यन्त्री खतिवडाले डब्लूएचओले नेपाललाई कोभिड–१९ विरुद्धको खोप पुर्याउन निरन्तर सहयोग प्रदान गरेको भन्दै सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशत नागरिकमा पूर्ण खोप पुर्याउने लक्ष्य रहेको बताए ।

मन्त्री खतिवडाले डा. गेहब्रेयससलाई दोस्रो कार्यकालका लागि समर्थन पनि गरेका छन् ।

टेड्रोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् ।

नेपाल सन् १९५३ मा डब्लूएचओसँग आबद्ध रहेको छ । उनी तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, सचिवहरू‚ प्रमुख विशेषज्ञहरू, विभागका प्रमुखहरू, परराष्ट्रमन्त्रालयका अधिकारीहरू र डब्लूएचओका प्रतिनिधीहरू सहभागी थिए ।

  • ८ बैशाख २०७९, बिहीबार १८:५७ मा प्रकाशित
  • Nabintech