काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमती प्रदेश प्रदेश सरकारले प्रेदशका १३ जिल्लामा आगामी वैशाख १ गतेदेखि वृद्धि भएको सार्वजनिक सवारी साधनको भाडा लागू गर्ने भएको हो ।
यातायात व्यवस्था मन्त्रालयको सुचनामा भनिएको छ, ‘२०७९/१/१ देखि लागू हुने गरी बागमती प्रदेश भित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ ।’
सरकारले काठमाडौँ उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको छ । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ ।
त्यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कात्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ ।
प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ ।
२६ चैत २०७८, शनिबार ११:१० मा प्रकाशित