अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई बिहीबार मन्त्री नियुक्त गरेकी हुन्।
‘प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बन्दी अन्तर्राष्ट्रिय कानुनका विज्ञ समेत हुन्।
यसैबीच, यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई हाल प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
२४ चैत २०७८, बिहीबार १३:३६ मा प्रकाशित