२० असाेज २०७९, बिहीबार
आईपीएल : अलराउन्डर कमिन्सको बिष्फोटक ब्याटिङ, कोलकाता शीर्षस्थानमा
  • मध्यमार्ग

काठमाडौं– अलराउन्डर प्याट कमिन्सको बिष्फोटक ब्याटिङमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ। पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भने सुरुआती तीनै खेलमा पराजित भएको छ।

१ सय ६२ रनको विजयी लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। कोलकाताको जितमा कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ्स खेले। उनले १४ बलमै अर्धशतक पूरा गरेका थिए।

यसअघि लोकेश राहुलले २०१८ मा १४ बलमै पन्जाब किंग्सबाट दिल्लीविरुद्ध प्रहार गरेका थिए।

वेंकटेश ऐर ४१ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे। अजिक्या रहाणे ७, श्रेयस ऐर १०, साम बिलिंग्स १७ र आन्द्रे रसेलले ११ रन बनाए। मुम्बईका टाइमल मिल्स र मुरुगन आश्विनले २-२ विकेट लिए। ड्यानियल साम्सले १ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो। मुम्बईका सूर्यकुमार यादव ३६ बलमा ५ चौका र २ छक्कासहित ५२ सर्वाधिक रनमा अविजित रहे।

युवा ब्याटर तिलक बर्मा ३८ रनमा अविजित रहे । ओपनर तथा कप्तान रोहित शर्माले ३ रन मात्र बनाउन सके।

डेब्यू खेल खेलेका डेवाल्ड ब्रेभिसले २९ रन जोडे। ईशान किशन १४ रनमा क्याच भए। अन्तिममा काइरन पोलार्ड २२ रनमा अविजित इनिङ्स खेले।

कोलकाताका प्याट कमिन्सले २ विकेट लिए। उमेश यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए।

जितसँगै कोलकाता ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा छ। राजस्थान रोयल्स ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ। मुम्बई भने तीन खेलमा जितबिहीन बन्दै नवौं स्थानमा छ।

  • २४ चैत २०७८, बिहीबार ०७:१३ मा प्रकाशित
  • Nabintech