नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढेको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।
यस्तै, खाना पकाउने ग्याँसको पनि मूल्य बढेको निगमले जनाएको छ। यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्याँस अब प्रतिसिलिण्डर १६ सय रुपैयाँ पुगेको छ।
मूल्य समायोजनपनि निगमलाई मासिक ९ अर्ब २७ करोड घाटा रहेको दाबी गरिएको छ।
निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ। मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।
यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलरले बढाएको छ। मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ।

२२ चैत २०७८, मंगलबार २३:५९ मा प्रकाशित