२० असाेज २०७९, बिहीबार
एआईजी बढुवा प्रकरण :
सर्वोच्चले दुवै पक्षलाई चैत २८ गतेका लागि बोलायो छलफलमा
  • मध्यमार्ग

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले वादी–प्रतिवादी दुवै पक्षलाई छलफलमा बोलाएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले सरकारलाई अन्तरिम आदेशको प्रयोजनका लागि छलफलमा आउन आदेश दिएको हो। अदालतले चैत २८ गतेका लागि छलफलमा बोलाएको छ। वरीयताक्रम अनुसार एआईजी बढुवा किन नभएको भन्ने प्रश्नको जवाफसहित छलफलमा उपस्थित हुन आदेश दिइएको छ।

यसअघि गोलाप्रथाद्वारा तोकिएको पेसी लगातार दुई दिनसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि आज तेस्रो दिन मंगलबार चुडालको इजलासमा परेको थियो। वरिष्ठलाई छाडेर कनिष्ठलाई बढुवा गर्नको कारणसहित छलफलमा उपस्थित हुन सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो।

कनिष्ठलाई बढुवा गरेर वरिष्ठलाई छुटाएको भन्दै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा चैत १७ गते रिट दर्ता गराएका थिए।

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषद् उनीहरूलाई चैत १५ गते एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएकै दिन उनीहरुले एआईजीको फुली लगाएर जिम्मेवारी सम्हालीसकेका छन्।

  • २२ चैत २०७८, मंगलबार १८:३४ मा प्रकाशित
  • Nabintech