९ असाेज २०७९, आईतबार
विद्यालय जाँदै गरेकी किशोरीको हत्या आरोपमा दुई जना पक्राउ
  • मध्यमार्ग

उदयपुरमा विद्यालय जाँदै गरेकी एक किशोरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय किशोर र १७ वर्षीया किशोरी छन्।

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता मावि रामपुरमा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवार मंगलबार बिहान बाटैमा मृत भेटिएकी थिइन्।

बिहान विद्यालयमा अतिरिक्त कक्षा लिन भनेर जाँदै गरेकी सुनुवारको यसोदा खोलामा शव भेटिएको थियो। शरीरमा चोट समेत लागेकाले हत्याको आशंका गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा दुई जना पक्राउ परेको उदयपुर प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमध्ये १७ वर्षीया किशोरी सुनुवारकै सहपाठी रहेको प्रहरीले जनाएको छ। उनी सुनुवारसँगै अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

केही समयअघि ती दुई किशोरीबीच सामान्य विवाद भएको पाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • २२ चैत २०७८, मंगलबार १६:३६ मा प्रकाशित
  • Nabintech