९ असाेज २०७९, आईतबार
चैत २५ गते खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शन!
  • मध्यमार्ग

उपत्यकाबाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ।

राप्रपाको बागमती प्रदेश समितिले मंगलबार काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीबारे समीक्षा गरेको छ।

बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने बताए। उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारी बैठकलाई जानकारी गराएका थिए।

देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले वैशाख ९ गतेसम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ती दलको उदासिनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठको दाबी छ। ‘हामी चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्छौं, श्रेष्ठ भन्छन्- ‘तयारी त्यही अनुसार भइरहेको छ।’

बैठकमा उपत्यकाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष रोशन कार्की र महामन्त्री भुवन पाठकले काठमाडौंका जनता परिवर्तनको पक्षमा रहेको र राप्रपालाई साथ दिने पक्षमा रहेको बताएका छन्। ‘हामी क्षेत्र र नगरमा मात्रै होइन टोल टोल र घर घरमा मा पुग्न सक्नुपर्छ, जनताले साथ दिनेछ’, महामन्त्री राजेन्द्र गुरुङले भने।

राप्रपाको बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा, काठमाडौं जिल्लाका अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले आफ्नो तयारीबारे बैठकलाई अवगत गराएका थिए।

झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तिव्रता दिइएको श्रेष्ठले बताएका छन्। काठमाडौंमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष एवं, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्षहरु पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।

  • २२ चैत २०७८, मंगलबार १६:३० मा प्रकाशित
  • Nabintech