२० असाेज २०७९, बिहीबार
श्रीलङ्काका अर्थ मन्त्रीद्वारा नियुक्त भएको एक दिनमै राजीनामा
  • मध्यमार्ग

 

नियुक्त भएको एकै दिनमा श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले राजीनामा दिएका छन् ।

सोमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गरेका भए पनि उनले मंगलबार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि उनी न्याय मन्त्रीका रुपमा रहेका थिए । २६ जना सामूहिक रुपमा राजीनामा दिने मन्त्रीमा उनी पनि थिए । पुनः उनलाई भने अर्थमन्त्री नियुक्त गरिएको थियो ।

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ । डिजल÷पेट्रोल नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् । देशमा दैनिक १६ घण्टाभन्दा धेरै लोडशेडिङ सुरु भएको छ ।

अर्थ व्यवस्था बिगारेको भन्दै नागरिकले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्काएपछि राजधानी कोलम्बोसहितका केही सहरमा सरकारले कर्फ्यु लगाएको छ ।

  • २२ चैत २०७८, मंगलबार १५:२३ मा प्रकाशित
  • Nabintech