९ असाेज २०७९, आईतबार
त्रिकोणात्मक टी २० आई सिरिजको उपाधी नेपाललाई
  • मध्यमार्ग

नेपालले त्रिकोणात्मक टी २० आई सिरिज जितेको छ। सोमबार टियु क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले पपुवा न्यू गिनीलाई ५० रनले पराजित गर्दै घरेलु मैदानमा दोस्रोपटक सिरिज जितेको हो।

नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य पछ्याएको पपुवा न्यू गिनी १६.१ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो।

पपुवा न्यू गिनीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे। बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए।

तेस्रो ओभरमै करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा समेटे। त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिए। कप्तान असद भाला ८ र टोली उरा शून्यमा आउट हुँदा पपुवा न्यू गिनी २५–३ को अवस्थामा पुग्‍यो।

कप्तान सन्दीप लामिछानेले १३औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिए। सन्दीपले ६ रन बनाएका रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए भने नोर्मन भानुअलाई शून्यमै आरिफ शेखबाट क्याचआउट गराए। १४औं ओभरमा दीपेन्द्रले चाड सपरलाई १ रनमा आदिल अन्सारीबाट क्याचआउट गराए।

पपुवा न्यू गिनीको इनिङ्स एक्लै सम्हालेका सेस बाउलाई करण केसीले १६औं ओभरको दोस्रो बलमा अविनाश बोहराबाट क्याचआउट गराएपछि नेपाल जिततर्फ अघि बढ्यो। त्यही ओभरमा करणले ४ रन बनाएका अबुअ मोरेअलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।

  • २१ चैत २०७८, सोमबार १६:२३ मा प्रकाशित
  • Nabintech