२० असाेज २०७९, बिहीबार
शनिबारदेखि जनकपुर–जयनगर रेल चल्ने, कति लाग्छ भाडा ?
  • मध्यमार्ग

 

शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्भाटन गरेपछि रेल सञ्चालनमा आउने भएको हो ।

रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

जनकपुरधाम रेल्वे स्टेशनमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट उद्घाटन गर्नेछन् ।

उद्घाटन हेर्न जनकपुरधाम रेल्वे स्टेशनमा ठूलो स्क्रिन जडान गरिनेछ ।

यसैबीच नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा सञ्चालन हुने रेलमा चढ्न नेपाली नागरिकको परिचय खुल्ने नागरिकताको प्रमाण पत्र, पासपोर्ट वा मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्ने भएको छ ।

दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताए ।

त्यस्तै, १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ७ वटा स्टेशन छन् ।

त्यस्तै, जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा पनि निर्धारण गरेको छ ।

जसमा कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १२५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।

यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३०० रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३५० रुपैयाँ भाडा दर तोकिएको छ ।

  • १८ चैत २०७८, शुक्रबार १८:३० मा प्रकाशित
  • Nabintech