१७ असाेज २०७९, सोमबार
मृल्यवृद्धिको साइड इफेक्ट :
यातायातको भाडा बढाउने सरकारको निर्णय, १५ प्रतिशतसम्म बढ्ने

स्थानीयस्तरमा चल्ने सवारीको भने भाडा नबढ्ने

  • मध्यमार्ग

सरकारले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीको माग सम्बोधन गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा १० देखि १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले आइतबार अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ।

पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएपछि व्यवासायीले भाडा बढाउन माग गर्दै सरकारलाई ‘अल्टिमेटम’ दिएका थिए। उक्त ‘अल्टिमेटम’ भित्र सरकारले भाडा नबढाए आफैं भाडादर कायम गर्ने उनीहरुको चेतावनी थियो।

बिहीबार यातायातमन्त्री रेणुकुमारी यादवले व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा समायोजनको निर्णय गरेकी हुन्।

यो निर्णयपछि हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ। बढेको भाडादर आइतबार रुट अनुसार सूची सार्वजनिक गरिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए। सूची सार्वजनिक भएपछि भाडा लागू हुने उनले बताए।

उनका अनुसार यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको हो। स्थानीयस्तरमा चल्ने (लोकल) सवारीसाधनको भाडा भने अहिले नबढ्ने उनले बताए।

साथै, अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोहीअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय भएको पनि उनले बताए।

विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाइएको छ। यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो। सो सिफारिसलाई मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको हो।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ।

  • १७ चैत २०७८, बिहीबार २१:५२ मा प्रकाशित
  • Nabintech