९ असाेज २०७९, आईतबार
अर्थतन्त्रमा चुलिँदै संकट:
सवारीमा जोर–बिजोर लागू र आइतबार पनि सरकारी बिदा दिन आयल निगमको प्रस्ताव
  • मध्यमार्ग

नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सरकाी बिदा दिन प्रस्ताव गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले शनिबारसँगै आइतबार पनि सरकारी बिदा दिन सुझाव दिएको हो।

निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको जनाएको छ।

बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

इन्धन मूल्यवृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो सुझावसहित मन्त्रालयलाई पत्राचार गरिएको प्रवक्ता उपाध्यायले बताए।

अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर–बिजोर लागू गर्न पनि सिफारिस गरिएको छ।

अहिले देशको आर्थिक अवस्था खस्केको र तेल आयातले ठूलो मात्रामा पैसा विदेश पठाउन परेको कुरालाई ध्यानमा राख्दै यस्तो नियम लागू गर्न सकिने विषयमा आफूहरुले सिफारिस गरेको उनले बताए।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ।

  • १५ चैत २०७८, मंगलबार १४:०० मा प्रकाशित
  • Nabintech