१० मंसिर २०७९, शनिबार
काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ, यस्तो छ नेपाल बसाइँको कार्यतालिका
  • मध्यमार्ग

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन्।

नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा त्रिदिवसीय भ्रमणका लागि वाङको टोली शुक्रबार दिउँसो काठमाडौं आएको हो।

भारतको नयाँदिल्ली हुँदै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी लगायतले स्वागत गरे।

यो पनि पढ्नुहोस्– चिनियाँ विदेशमन्त्रीको तीन दिने नेपाल भ्रमणमा के-के छन् कार्यक्रम

विमानस्थलबाट उनी सिधैं बत्तिसपुतलीस्थित आफू बस्ने होटल द्वारिकामा पुगेका छन्। शुक्रबार राति उनी द्वारिकामै बस्नेछन्। सुरक्षा स्रोतका अनुसार भोलि शनिबार वाङले कीर्तिपुरमा हाइकिङ जाने सेड्युल रहेको छ।

शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गर्नेछन्।

वार्तापछि दुई देशबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रम छ।

शनिबार साँझ नै परराष्ट्र मन्त्री खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्। वाङले आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नेछन्।

त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट सकेर वाङ आइतबार नै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

  • ११ चैत २०७८, शुक्रबार १७:४२ मा प्रकाशित
  • Nabintech