१७ असाेज २०७९, सोमबार
नेपाल पीएनजीसँग ६ रनले पराजित
  • मध्यमार्ग

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पपुवा न्यू गिनी (पीएनजी)सँग ६ रनले पराजित भएको छ।

पपुवा न्यू गिनीले दिएको २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक १२६ रनको योगदान दिए। उनले १०७ बल खेल्दै ७ चौका र ४ छक्काको मद्दतमा १२६ रन बनाएका हुन्।

कुनै पनि नेपाली खेलाडीले घरेलु मैदान कीर्तिपुरमा बनाएको यो पहिलो शतक हो। रोहित पारस खड्कापछि शतक बनाउने दोस्रो नेपाली खेलाडी हुन्।

सन् २०१९ मा युएईविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा शतक बनाउदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका थिए। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका थिए।

आज आक्रामक खेलेका रोहितले शतक बनाउन ९१ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनको यो १६औं ओडीआई हो। उनी ओडीआईमा ज्ञानेन्द्र मल्लसँगै सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन्। दुवैले ४–४ अर्धशतक बनाएका छन्।

यस्तै, आरिफ शेखले ६४ बलमा २ चौकासहित ३४ रन बनाए। त्यसअघि नेपालले खराब ब्याटिङ सुरुआत गरेको थियो। नेपालले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको छ। ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए।

तर, तीव्र गतिका बलर नर्मन भानुआले अनिललाई सेसे बाउटबाट ६ रनमा क्याच आउट गराए। सन् २०१८ मा नेपालले ओडिआई मान्यता पाएसँगै नेदरल्यान्डविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका अनिलले ३२ बलमा ३ चौकासहित २१ रन बनाएका थिए। त्यसपछि उनी राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन्।

नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए। नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने क्रममा मिडअनमा देव हिरी हिरीबाट क्याच आउट भए।

घरेलु प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका देवले यसै खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। गत पुसमा यू–१९ राष्ट्रिय प्रतियोगितामा देवले लुम्बिनी प्रदेशलाई च्याम्पियन बनाउन ७ खेलमा ४ अर्धशतकका साथ ३ सय ३४ रन बनाएका थिए।

दुई महिना अघि सम्पन्न प्रधानमन्त्री कप टी२० राष्ट्रिय प्रतियोगितामा ४ खेलमा १ सय ५८ रन बनाउँदै चौंथो स्थानमा थिए।

१० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरे। भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे। ३–४५ को स्थितिमा ब्याटिङमा आएका युवा ब्याटर दीपेन्द्रसिंह ऐरी पनि सम्हालिन सकेनन्।

उनलाई १२औं ओभरको तेस्रो बलममा चार्ल्स अमिनीले जोशन किलाबाट क्याच गराए। दीपेन्द्रले १७ बलमा ३ चौकासहित १५ रन बनाए।

यसअघि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पनि दीपेन्द्रले खराब खेल प्रदर्शन गरेका थिए। पपुवा न्यू गिनीविरुद्धकै खेलमा दीपेन्द्रसिंह चाद सोपरबाट शून्यमा आउट भए। दीपेन्द्र युएईसँगको दोस्रो खेलमा गोल्डेन डक आउट भएका थिए।

त्यसपछि कृजमा आएका आरिफ र रोहितले १०४ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए। जुन ओडीआईमा नेपालको कुनैपनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो।

यसअघि पपुवा न्यू गिनीसँग पहिलो ओडीआई खेलमा पाँचौं विकेटका लागि नै १ सय रनको शतकीय साझेदारी गरेका थिए। जुन नेपाली ओडीआईको पहिलो शतकीय साझेदारी थियो।

तर, आरिफ ३५औं ओभरको पहिलो बलमा कप्तान असाद भालाको बलमा क्याच आउट भए। त्यसपछि रोहितलाई भीम सार्किले साथ दिएका थिए। ६–२१७ को स्थितिमा कृजमा आएका सार्कीले १७ रन बनाए।

  • ११ चैत २०७८, शुक्रबार १७:२९ मा प्रकाशित
  • Nabintech