९ असाेज २०७९, आईतबार
हक्की संघले नै कागज कीर्ते गरेर भारतीयलाई नेपाली खेलाडी बनाएको आरोप
  • मध्यमार्ग

विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेशले तीन भारतीय खेलाडी खेलाएको भन्दै बागमती प्रदेशले छानबिन गर्न माग गरेको छ।

बिहीबार भएको खेलमा गण्डकीले प्रतियोगिताको नियमविपरीत तीन खेलाडीलाई मैदान उतारेको भन्दै बागमतीले नेपाल हक्की संघसमक्ष छानबिनको माग गरेको हो।

बिहीबारको पहिलो खेलमा गण्डकीले बागमतीलाई ८–० को गोलअन्तरमा पराजित गरेको थियो। गण्डकीको जितमा आशिष ठकुरीले ३ तथा सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल गरेका थिए।

यस्तै, गण्डकीका रोहन लामाले १ गोल गरेका थिए। जारी प्रतियोगिता पहिलो खेलमा आर्मीसँग ११–० ले पराजित भएको गण्डकी सेमिफाइनलमा पुगिसकेको छ। यस्तै, आर्मीसँगै १४–० गोल अन्तरले पराजित भएको बागमती प्रतियोगिताबाटै बाहिरिसकेको छ।

बागमतीका मुख्य प्रशिक्षक मनोज शर्मा र टिम व्यवस्थापक साजन शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोजक कमिटीले नेपाल हक्की संघबाट जारी नै नभएको र नियमावली समेत स्वीकृत नगरी संयोजक तोकेर आफूखुशी निर्देशित पत्रचार गरेर विभिन्न प्रदेशबाट खेलाडीहरु बोलाएर प्रतियोगिता सञ्चालन गरेको आरोप लगाएका छन्।

उनीहरुले विज्ञप्तिमा आयोजक र प्राविधिक कमिटीका सदस्यहरुको व्यक्तिगत र समूहगत स्वार्थ अनुरुप गण्डकीले विदेशी खेलाडीहरुलाई कीर्ते कागजमार्फत् नेपाली बनाएर सहभागी गराएको पनि दाबी गरेका छन्।

‘खेलाडीहरुको नाम, जर्सी नम्बरसहित विरोध दाबी गर्दासमेत प्राविधिक कमिटी र आयोजकको संयोजक र प्रतिवादीको मिलोमतोमा हामीलाई प्रमाणसमेत नदेखाइ दाबी नपुगेको भनी जारी प्रतियोगिताबाट बाहिर गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोजक संरक्षित गण्डकी प्रदेशका खेलाडीको सक्कल प्रमाणहरु हामीले हेर्न पाउनुपर्ने हाम्रो माग रहेको छ।’

बिहीबारको खेलमा गण्डकी प्रदेशले जर्सी नम्बर ८ का सोनु लामा, जर्सी नम्बर १७ का रोहन लामा र हेमन्त पाइना भारतीय खेलाडी भएको आशंका लागेपछि बागमती प्रदेशका प्रशिक्षक र टिम व्यवस्थापकले प्राविधिक कमिटी र आयोजकको संयोजकसँग हाफ टाइममा खेल रोक्न माग गरेका थिए।

यसअघि आयोजकले टिम दर्ता गराउँदा बुँदा नम्बर दुईमा खेलाडी नेपाली नागरिक हुनुपर्ने र जुन प्रदेशको नागरिक हो सोही प्रदेशबाट खेल्नुपर्ने जनाएको थियो। यस्तै, कुनै टिममा गैर–नेपाली खेलाडी खेलाइएको पाइए वा सावित भए पुरै टिम प्रतियोगिताबाट बाहिरिनु पर्ने जनाएको थियो।

‘आयोजकले सहभागिता जनाउँदा नै सम्बन्धित प्रदेशबाहेकका खेलाडी खेलाउन नपाइने र विदेशी खेलाडी समेत खेलाउन नपाइने भनेका थिए,’ टिम व्यवस्थापक शर्माले भने, ‘सोही अनुसार विवाद उत्पन्न नहोस् भनेर सबै टोलीले नागरिकतालगायत सबै चाहिने डकुमेन्ट लगेका थिए। तर, खेलको दैरान गण्डकीका तीन खेलाडीको डकुमेन्ट नदेखेपछि आयोजकलाई हाफ टाइममा खेल रोक्न अनुरोध गरेका थियौं। तर, पछि छानबिन गर्ने भनेर झारा टारेपछि हामीले छानबिनको माग गरेका हौं।’

करिब ३ वर्ष अगाडि थाइल्यान्डमा आयोजना भएको एसियाली इन्डोर हक्की प्रतियोगितामा सोनु लामाको नागरिकतालगायत कागजात नमिलेको भन्दै राहदानी बनाउन पाएका थिएनन्। प्रतियोगितास्थल पुग्न अनिवार्य राहदानी चाहिने भएपनि पेस गर्न नसकेपछि उनलाई हक्की संघले सहभागी हुनबाट बञ्चित गरेको थियो।

संघको उक्त कदमसँगै बागमतीले पनि उनी भारतीय नागरिक भएको आशंका गरेको छ। बिहीबारको खेलमा पनि उनी लगायत ३ खेलाडीको आवश्यक कागजात माग्दा आयोजकले आफूलाई आश्वस्त पार्न नसकेको टिम व्यवस्थापक शर्माको भनाइ छ।

‘हामीले खेलाडीमै शंका लागेपछि छानबिन गर्न निवेदन दिएका थियौं। तर, आयोजकले खेल आधामा पुगिसकेको भन्दै रोक्न मानेर र हामीले पनि पछि हट्यौं। खेल सकिएको आधा घण्टापछि निवेदन लियो। भरेसम्म छानबिन गर्ने भनिएको थियो तर, सुनुवाइ भएन,’ उनले भने।

बागमती प्रदेशले कागजात मागेपछि आयोजक कमिटीले बागमतीका प्रशिक्षक र टिम व्यवस्थापकलाई सोनु र रोहन लामा दाजुभाइ भएको कागजात देखाएको थियो। उनीहरु एकै जिल्लामा जन्मेको र एकै समयमा जन्मिएको जन्मदर्ताको कागजात देखाएको बागमतीका टिम व्यवस्थापक शर्मा दाबी गर्छन्।

‘छानबिन कमिटीले कागजात मागेपछि रोहन र सोनुले आफू दाजुभाइ भएको भन्दै केरमेर भएको जन्मदर्ताको फोटोकपी देखाएका थिए। फोटोकपीको आधिकारिक्तामाथि शंका लागेपछि हामीले असहमति जननाएका हौं,’ उनले भने।

यसअघि आयोजकले नियमविपरीत खेलाडी अनुबन्ध गराएको खण्डमा तयारी र यातायात खर्चसँगै टोलीलाई नै प्रतियोगिताबाट बञ्चित गर्ने भन्दै सचेत गराएको थियो। तर, हक्की संघकै पदाधिकारीले गण्डकी प्रदेशलाई बचाएको शर्मको आरोप छ।

संघको आफ्नै तर्क
नेपाल हक्की संघले भने प्रतियोगितामा कुनै विदेशी खेलाडी सहभागी नभएको जनाएको छ। संघका सदस्य असिम शर्माले बागमती प्रदेशले खेलाडी सहभागितालाई लिएर आपत्ति जनाएपनि छानबिनको क्रममा त्यस्ता कुनै शंकास्पद कागजात फेला नपारेको दाबी गरेका छन्।

‘बागमती प्रदेशले प्रोटेस गर्नुभएको थियो। त्यसपछि हामीले तीनै खेलाडीको सिडियो कार्यालयबाट जारी गरिएको जन्मदर्ताको फोटोकपी लिएर हेर्दा शंका गर्नुपर्ने नदेखिएपछि उहाँहरुको प्रोटेस खारेज गरेका हौं,’ उनले भने।

उनले खेलाडीले जन्मदर्ताको फोटोकपी पेस गरेपनि गण्डकीले नागरिकता देखाउन नसकेको स्वीकार गरेका छन्। उनले प्राप्त कागजातको छानबिन गर्न संघमा पठाइएको र उतैबाट छानबिन हुने बताएका छन्।

‘उहाँहरुले दिनुभएको निवेदन, हामीले उहाँहरुलाई दिएको जानकारी, गण्डकीबाट प्राप्त खेलाडीको कागजात समेटेर रिपोर्ट संघलाई पठाएका छौं। उतैबाट उहाँहरुलाई जानकारी दिनुहोला,’ उनले भने।

  • ११ चैत २०७८, शुक्रबार १७:२१ मा प्रकाशित
  • Nabintech