२० असाेज २०७९, बिहीबार
चिनियाँ विदेशमन्त्रीको तीन दिने नेपाल भ्रमणमा के-के छन् कार्यक्रम
  • मध्यमार्ग

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउँदै छन् ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौँ आउन लागेका उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्नेछन् । त्यसपछि बत्तिसपुतलीस्थित द्वारिका होटलमा बस्नेछन् ।

आज उनको कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन । शनिबार दिउँसो २ बजे उनी नेपाल–चीन विदेश मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । त्यसपछि नेपाल–चीनका सम्बन्धित पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

द्विपक्षीय वार्तापछि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गगर्नेछन् । त्यस्तै, शनिबार परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुने कार्यक्रम छ ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनी आइतबार बेलुका चीन प्रस्थान गर्नेछन् ।

  • ११ चैत २०७८, शुक्रबार १४:१३ मा प्रकाशित
  • Nabintech