९ असाेज २०७९, आईतबार
प्रचण्ड भन्छन्– माओवादीले जित्दा मात्र संघीयता र गणतन्त्रको रक्षा
  • मध्यमार्ग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा हुने बताएका छन्।

बिहीबार चितवनको माडीमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा जित–हार सामान्य भएपनि माओवादीका लागि भने अब आउने चुनाव सामान्य नहुने बताए।

उनले अहिले पनि प्रतिगमनको षडयन्त्र रहेको ‌औंल्याए। दुईपटकको प्रतिगमनलाई आन्दोलनबाट पराजित गरेको उल्लेख गर्दै प्रचण्डले अहिले पनि षड्यन्त्र जारी रहेको उल्लेख गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।

प्रचण्डले निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी नहरने र आफूहरू नै नेकपाको आधिरकारी नेता/कार्यकर्ता हुने बताए।

‘निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन। हामी नेकपाका आधिकारिक नेता/कार्यकर्ता हुन्थ्यौं। तर, देशीविदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्टाइयो’, प्रचण्डले भने, ‘त्यसपछि दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्‍यौं।
आज पनि त्यो शक्ति षड्यन्त्र जारी राखेको छ। आज पनि सदन चल्न दिइएको छैन। त्यो प्रतिगमनकै एउटा कडी हो।’

उनले यो वर्ष पार्टीको महाधिवेशन वर्षका रुपमा रहेको पनि बताए। तर, अरु पार्टीका भन्दा आफ्नो पार्टीको महाधिवेशन पृथक रहेको प्रचण्डको दाबी छ।

‘अरुको भन्दा हाम्रो महाधिवेशन भिन्न रह्यो। किनकि हामीले राजनीतिक विचार र कार्यदिशा निर्माणका क्षेत्रमा व्यापक बहस सञ्चालन गर्दै मानव जातिको भलाईका लागि सर्वहारावादी कम्युनिस्ट पार्टीले लिने नितीबारे छलफल, बहस गरियो’, प्रचण्डले भने, ‘पार्टी जीवन र वर्ग संघर्षको अलावा विश्वको वर्तमान अवस्था, जलवायु परिवर्तन, वातावरणीय प्रतिकूलता, विज्ञान र प्रविधिको विकास आदि सबै विषय महाधिवेशनका मुद्दा बने।’

  • १० चैत २०७८, बिहीबार १४:४४ मा प्रकाशित
  • Nabintech