९ असाेज २०७९, आईतबार
चेम्बरले तीनखम्बे कृषि नीति अन्तर्गत सरकारसँग सहकार्य गर्ने
  • मध्यमार्ग

नेपाल चेम्बर अफ कमर्सले तीनखम्बे कृषि नीति अन्तर्गत सरकारसँग सहकार्य गर्ने भएको छ। बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारीमार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसँग प्रस्ताव गरेको हो।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवसँग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए। कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयत हुनु मुलुककै लागि दुर्भाग्य भएको मल्लले बताए।

आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको अध्यक्ष मल्लले बताए।

‘सरकारले उपयुक्त लगानीको वातावरण बनाइदिने हो भने निजी क्षेत्र कृषिमा लगानी गर्न तयार छ। किसानको उत्पादनदेखि बजारीकरण राज्यले साथ दिन आवश्यक छ। खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसँगै अनुदानको व्यवस्था गर्न आवश्यक छ’, मल्लले भने।

कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि प्रभावकारी हुन नसकेको र सरकारसँग कृषि अनुदान लिएर जग्गाको कारोबार भइरहेको गुनासो बढेको अध्यक्ष मल्लको भनाइ छ।

३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसँग सहकार्यमार्फत कृषि उत्पादन अभियान सुरु गरेको अध्यक्ष मल्लको भनाइ छ।

युवाहरुलाई व्यावसायिक खेतीतर्फ आर्कषित गर्न चेम्बरले आवश्यक सवै समन्वय गर्ने समेत अध्यक्ष मल्लले बताए।

कार्यक्रममा कृषिमन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषकमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए। कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा अनुसारको काम हुन नसकेको मन्त्री यादवले बताए। कृषिमा तीनखम्बे अर्थनीतिका लागि आफूले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भइरहेको मन्त्री यादवले जानकारी दिए।

कृषिकले उत्पादन गरेका वस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरणसम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भइरहेको जानकारी दिए। मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताए।

इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसँग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए। उनिहरुले विदेशी प्रविधि तथा उन्नत जातको बिऊ भित्र्याएर नेपालमा कृषि प्रर्वद्धन गर्न खोजेपनि नीतिगत झन्झटका कारण समस्या भएको गुनासो गरे।

कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा अन्जान शाक्यले इजरायलको कृषि प्रविधिबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

  • १० चैत २०७८, बिहीबार ०८:४३ मा प्रकाशित
  • Nabintech