निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अघि नै बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने आचारसंहिता रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न आदेश दिएको हो ।
अदालतले राजनीनामा दिनुपर्ने व्यवस्था राख्नुको लिखित कारण पेश गर्न समेत निर्वाचन आयोगलाई आदेश दिएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले आयोग र सरकारलाई लिखित जवाफ पेश गर्न भनेको छ । त्यस्तै, दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ । मंगलबारको आदेश निरन्तरता हुने नहुनेबारे पनि अदालतले पछि निर्णय गर्ने भएको छ ।

८ चैत २०७८, मंगलबार १५:०९ मा प्रकाशित