९ असाेज २०७९, आईतबार
शिक्षकदेखि कार्टुनिष्टसम्म ‘माड्साब’को यात्रा
  • मध्यमार्ग

नेपाल समाचारपत्रमा एउटा कार्टुन देखिन्छ । जहाँ एक जना किसान जस्ता देखिने पुरुष पत्रिका पढिरहेका हुन्छन् । उनको अघिल्तिर दायाँपट्टि एक महिला (सायद तिनै पुरुषकी श्रीमती) एउटा भाँडोमा दाउराको आगो बालेर केही पकाउँदै गरेकी हुन्छिन् । पृष्ठभूमि एउटा पाल जस्तो देखिने घर छ भने केही पर रुखबिरुवा देखिन्छन् । यसो हेर्दा किसानको एवम् भूमिहिनको परिवेश जस्तो । त्यही क्रममा महिलाले सोध्छिन्, ‘यो याम्सिसी भन्या चैँ के रैछ खास ?’ ति पुरुषले जवाफ दिन्छन्, ‘माओवादी, कम्निस्, काउँरेस् होला ! सबै सिसी खाने यिनै त हुन् नि !’ अमेरिकन सहयोग परियोजना (एमसीसी)का विषयमा निकै रोचक तरिकाले राजनीतिक व्यंग्य प्रहार गरिएको यो कार्टुन माड्साबले बनाएका हुन् ।

प्रखर सिर्जनशीलता र हाँस्यविनोदका समिश्रणमा कार्टुन चित्र कोर्ने माड्साब अर्थात आशिष खनाल । उनका कार्टुनहरुले समसामयिक समाजका घटना एवम् राजनीतिमा खरो कटाक्ष प्रस्तुत गरेका हुन्छन् । जसले सबैलाई मोहित मात्र पार्दैन सम्बन्धितलाई घच्घच्याउनेदेखि पाठकलाई रमाइलो समेत प्रदान गर्दछ ।

इलामको देउमाइ नगरपालिका ४ मा जन्मेका आशिषले गाउँकै विद्यालयमा स्कुले जीवन बिताए । सानैदेखि चित्रकलामा रुचि भएका उनले विभिन्न प्रतिस्पर्धामा सहभागी हुने मात्र होइन स्थान समेत हासिल गर्दथे ।

आफूलाई बहुआयामिक प्रतिभाका रुपमा परिचित गराएका खनाल एक कुशल शिक्षक हुन् । वास्तवमा उनले काठमाडौँको नयाँबानेश्वरस्थित एम्बिसन कलेजबाट विज्ञानमा १२ पास गरेपछि इलाम मंगलबारेको सिर्जनशील विद्यालयमा अध्यापन गराउन थालेका थिए ।

स्कुलमा पढाउनु रहर थियो कि बाध्यता त्यो अर्कै कुरा भयो । तर उनले शिक्षण पेशालाई नै ब्राण्ड बनाए । त्यही क्रममा आफूलाई माड्साब उपनाम दिए । त्यही नाम आज नेपालको नयाँ पुस्ताका जल्दोबल्दो कार्टुनिष्टका रुपमा फड्को मारिरहेको पाइला बनेको छ ।

विशेष राजनैतिक कुरितीमाथि व्यङ्य गर्ने कार्टुनिस्टका रुपमा उदाएका खनाल सम्भवत: इलामका पहिलो कार्टुनिष्ट हुन् । लकडाउनकै समयदेखि उनले इलामको इलाम पोस्ट दैनिक, इलाम ग्रीन अनलाइन, झापाको इजलास दैनिक पत्रिकाका लागि कार्टुन बनाएका छन् ।

लामो कालो दाह्री पालेका खनालले जीवनमा धेरै विषयलाई प्रयोग गरेका छन् । बिएससी अध्ययन गर्न इलामबाट काठमाडौँ हानिएपछि उनले शिक्षणलाई नै निरन्तरता दिने निधो गरे । त्यही क्रममा उनले कोटेश्वरस्थित लालीगुँरास वाटिका सेकेण्डरी स्कुलको होस्टेल इन्जार्च एवम् शिक्षकका रुपमा कार्य गर्न थाले ।

विद्यालयमा पनि बोडंमा मार्करले आफ्ना विद्यार्थीहरुको कार्टुन चित्रहरु बनाउने खनालले सैलुनदेखि ट्युसन सेन्टरसम्म सञ्चालन गरेका थिए । लकडाउनका कारण आफूले सञ्चालन गरेको सैलुन बेच्नु परे पनि घाटा भने व्यहोर्नु नपरेको उनी बताउँछन् । उनको सैलुनमा दाह्री ग्यांगका युवाहरुले साथ दिएको भन्दै उनी खुशी व्यक्त गर्छन् ।

विशेष राजनैतिक कुरितीमाथि व्यङ्य गर्ने कार्टुनिस्टका रुपमा उदाएका खनाल सम्भवत इलामका पहिलो कार्टुनिष्ट हुन् । लकडाउनकै समयदेखि उनले इलामको इलाम पोस्ट दैनिक, इलाम ग्रीन अनलाइन, झापाको इजलास दैनिक पत्रिकाका लागि कार्टुन बनाएका छन् ।

यो यात्रा त्यतिमा मात्रै सिमित भएन । छोटो समयमै पाठकहरु तथा शुभचिन्तकहरुको साथ र हौसलाले आज उनी राष्ट्रिय दैनिक नेपाल समाचार पत्रका कार्टुन बनाउँछन् ।

अहिले पनि आफ्नो पूरानो पेशा शिक्षण र कार्टुनलाई समय व्यवस्थापन गर्दै अघि बढाएका खनाल आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्ने लक्ष्य भएको बताउँछन् ।

अझै धेरै सिक्न बाँकी रहेको बताउने उनी काया कैरनमा आफ्नो कार्टुन वाचन भएको सुनेपछि थप उर्जा मिलेको सुनाउँछन् ।

मानिसहरुले वास्तविक नामले भन्दा पनि कार्टुनको ब्राण्ड नाम माड्साब भनेर बोलाउन थालेको सुनेर खुशी लाग्ने गरेको उनी भन्छन् ।

अधिकांश समय विद्यालयमै बिताउने आशिष बेला बेलामा कविता एवम् मुक्तकहरु पनि लेख्ने गर्छन् । केटाकेटीहरु प्रति विशेष लगाव भएकैले शिक्षणमा लागेका उनले यसलाई निरन्तरता नै दिने सोचमा छन् । आफ्ना विद्यार्थीहरुमा हौसला बन्न चाहने आशिषलाई अभिभावकहरुले समेत राम्रो शिक्षक भन्दा खुशी लाग्ने गरेको बताउँछन् ।

खनालका बुबा गंगा खनाल इलाममा ख्याति प्राप्त नाटककार एवम् शिक्षक हुन् । सायद यसैको प्रभाव पनि हुन सक्छ माड्साबमा अभिनयमा समेत रुचि एवम् ज्ञान विद्यमान छ ।

हाल आशिष नेपालको एउटा ख्याति प्राप्त टेलिभिजनबाट कमेडी टक सो चलाउने तयारीमा छन् । फरक प्रकृतिका अन्तर्वार्ता रहेको बताउने आशिषको सो अब छिट्टै हेर्न पाइने छ ।

 

  • ७ चैत २०७८, सोमबार १९:३१ मा प्रकाशित
  • Nabintech