२० असाेज २०७९, बिहीबार
स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा ‘स्वर्णिम रहस्य’ पुस्तकको विमोचन सम्पन्न
  • मध्यमार्ग

स्वर्णिम युग फाउन्डेसनको औपचारिक समुद्घाटन भएको छ ।

आइतबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको स्वर्णिम युग फाउन्डेसन शुभारम्भ तथा ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचनमा उपराष्ट्रपति नन्दबहादुर पुनले फाउन्डेसनको वेबसाइट क्लिक गरेर वेबसाइटको पनि उद्घाटन गरेका थिए ।

उपराष्ट्रपति पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता रहेको बताए ।

पछिल्लो समयमा देशले वा सरकारले केही गर्न सकेन, राजनीतिक परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन हुन सकेन भनेर सरकारात्मक र नकारात्मक रुपमा प्रतिक्रियाहरु आइरहे पनि नकारात्मक टिप्पणी बढी हुने गरेको धारणा राख्दै उनले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको बताए ।

विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्दै उहाँले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको स्वीकार पनि गरे ।

सार्वजनिक किताबले आत्मानुशासन, पारदर्शिता र समाज विकासका गराउनका लागि उत्प्रेरणा दिने विश्वास उनले व्यक्त गरे ।

उपराष्ट्रपति पुनले संविधानमा नै शिक्षालाई निःशुल्क गर्ने प्रावधान भए पनि व्यावहारिक रुपमा लागू हुन नसकेको र अझै थुप्रै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताए । उपराष्ट्रपति पुनले समान शिक्षा हासिल गर्न हरेकले आआफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहेको औँल्याए । उनले त्यस्ता काममा देशभरका सहयोगी मनहरु जोडिने आशा व्यक्त गरे ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको शैक्षिक विकासका लागि सबैको योगदान आवश्यक भएको बताउँदै यस्ता अभियानले सचेतना जनाउने विश्वास व्यक्त गरिन् ।

फाउण्डेशनका नेपाल अध्यक्ष मनऋषि धितालले समाजमा केही गरौँ भन्ने सोचका साथ संस्था स्थापना गरेको र यसमार्फत शैक्षिक एवं सामाजिक अभियान चलाउने जानकारी गराए ।

नेपालमा सफाइ अभियानमार्फत सेवा गरेका पुस्तकका लेखक खेम शर्माले कोभिड–१९ सङ्क्रमणको समयको सदुपयोग गरी आफुले पुस्तक लेखेको बताए ।

उनले पारदर्शिताले मात्रै समाजको विकास हुन्छ भन्दै शैक्षिक एवं सामाजिक चेतना जागृत गराउन जरुरी छ भन्ने उद्देश्य आफूहरुको रहेको बताए । उनले पुस्तक बिक्रीबाट आएको रकम पनि शिक्षाको विकासमा लगाउने जानकारी दिए ।

उनले पुस्तक स्वर्णिम रहस्यमा मानिसको कर्तव्य, सकारात्मक सोच, नैतिक शिक्षा, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषय समेटिएका छन् ।

  • ६ चैत २०७८, आईतबार १९:५१ मा प्रकाशित
  • Nabintech