२० असाेज २०७९, बिहीबार
प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह– विश्वविद्यालयको हड्ताल बन्द गर्नुस्
  • मध्यमार्ग

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हड्ताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन्।

हालै नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हड्ताल गर्नु गलत बताए।

‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ मन्त्री पौडेलले भने, ‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हड्ताल रोक्नुपर्‍यो। प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस्।’

उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए। प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए।

विश्वविद्यालयहरु समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताए।

‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टिकरणका आधारमा केन्द्रीय विश्वविद्यालयको मातहतमा रहनेगरी तयारी गरेका छौं’ मन्त्री पौडेलले भने, ‘उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादाक्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयका लागि पहल गरिदिन आग्रह गरे।

प्राध्यापकहरुको तलबमान सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउने, शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामती अस्पतालभन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका थिए।

लामोसमयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थीसंगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन्।

  • ५ चैत २०७८, शनिबार ०९:०६ मा प्रकाशित
  • Nabintech