१० मंसिर २०७९, शनिबार
मध्यपुर थिमी नगरपालिकाका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण

देशभर १५ हजार भूमिहीनलाई बाँडियो लालपूर्जा

  • मध्यमार्ग

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर थिमी नगरपालिको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेकी छन्।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ६ र ७ तथा साविकको वडा नम्बर ६ र ८ को गाउँब्लकमा रहेका भूमिहीनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने दाबी गरिन्।

मध्यपुर थिमी नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो।

मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन्।

मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन्।

उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अुनसार काम अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताइन्।

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरुवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम केही समयमा नै सुरु गरिने पनि जानकारी दिइन्।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी र चितवन र काठमाडौंको कीर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिहीनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन्।

हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ। २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा नपाएकाहरुलाई लालपूर्जा वितरण अभियान तीब्र पारिएको छ।

  • ५ चैत २०७८, शनिबार ०८:४९ मा प्रकाशित
  • Nabintech