१८ माघ २०७९, बुधबार
कोरोनाविरुद्धको खोप किन्न विश्व बैंकसँग थप २ अर्ब १४ करोडको ऋण सम्झौता
  • मध्यमार्ग

काठमाडौं- कोभिड-१९ प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंक र नेपाल सरकारबीच १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप सहुलियतपूर्ण ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

प्रस्तावित ऋण सहायताको उपयोगबाट नेपालले लिएको कोभिड-१९ विरुद्धको सर्वव्यापी खोप अभियान विस्तारमा थप सहजता आउनेछ विश्वास लिइएको छ।

सहायताबाट ५ वर्षभन्दा माथि उमेर समूहका लागि सुरक्षित र प्रभावकारी हुने खोप खरिदका लागि सहयोग पुग्नेछ। सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले शुक्रबार हस्ताक्षर गरे।

सम्झौतापश्चात विशेष गरेर बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्ने अर्थ मन्त्रालयका सचिव मरासिनीले बताए।

प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड-१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने साझा उद्देश्य राखेका छन्।

आयोजना तथा यसका अतिरिक्त वित्तपोषण अन्तर्गतका कार्यक्रमहरूको कार्यान्वयनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा बिभाग तथा सम्बद्ध संस्थागत निकायहरूद्वारा निरन्तरता दिइनेछ। विश्व बैंकले नेपालसँगको साझेदारीलाई निरन्तरता दिँदै यस अतिरिक्त वित्तपोषणमार्फत जनसंख्याको ठूलो हिस्सालाई सुरक्षित र प्रभावकारी खोप उपलब्ध गराउन लागेकोमा निर्देशक फारिसले खुशी व्यक्त गरे।

  • १३ फागुन २०७८, शुक्रबार १८:४१ मा प्रकाशित
  • Nabintech