९ असाेज २०७९, आईतबार
स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका कार्यान्वयनमा जोड
  • मध्यमार्ग

नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्योलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ।

महासंघको हालै वीरगञ्जमा सम्पन्न २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु गर्ने बताए।

स्वदेशी उत्पादनको संरक्षण र प्रवर्द्धन तथा यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उनले निर्देशिकाको अक्षरस पालना गराउन सरकार र सरोकारवाला निकायसँग छलफल सुरु गर्ने बताए। स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको भनाइ थियो।

मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नति, पुनर्उत्थान र विस्तारका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गर्ने योजना रहेको पनि अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए। स्थानीय तहहरुमार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरुमा कार्यक्रमहरु ल्याउने प्रयास गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय राजश्व परामर्श समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने उनको भनाइ थियो।

  • ४ चैत २०७८, शुक्रबार १०:१६ मा प्रकाशित
  • Nabintech