२० असाेज २०७९, बिहीबार
स्थानीय निर्वाचन :
प्रचारमा दलको झण्डा र चुनाव चिह्न अंकित टोपी-टिशर्टमाथि प्रतिबन्ध
  • मध्यमार्ग

आउँदो स्थानीय निर्वाचनमा प्रचार–प्रसारमा सहभागी हुनेले दलको निर्वाचन चिह्न वा झण्डा अंकित टोपी, टिसर्टलगायत प्रयोग गर्न नपाउने भएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी बिहीबार राजपत्रमा प्रकाशित गरेको आचारसंहिता अनुसार दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, टोपी, टिसर्टलगायत सामग्री प्रयोग गर्न पाइने छैन।

‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न हुँदैन’, आचारसंहितामा भनिएको छ।

तर, उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने भनिएको छ।

आयोगले स्वीकृत गरेको आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरिएको छ।

आचारसंहिताको दफा ४ मा फेसबुक, ट्विटर, युट्युब लगायतलाई लक्षित गरेर व्यवस्था गरिएको छ। जसमा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने भनिएको छ।

निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन गर्न नहुने, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वैषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने भनिएको छ।

त्यस्तै, उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेद्वार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने भनिएको छ।

  • ३ चैत २०७८, बिहीबार २०:५२ मा प्रकाशित
  • Nabintech