९ असाेज २०७९, आईतबार
होलीमा अमर्यादित गतिविधि : काठमाडौंमा पक्राउ परे ७ महिला र १२२ पुरुष
  • मध्यमार्ग

होलीमा अमर्यादित गतिविधि गरेको भन्दै प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२९ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये ७ जना महिला र १२२ जना पुरुष छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा मादक पदार्थ सेवन गर्ने, जबरजस्ती रंग दल्ने, लोला दल्ने, अमर्यादित व्यहार देखाउने र शान्ति सुरक्षामा खलल पुर्‍याउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएको छ।

सबैभन्दा बढी काठमाडौंको बसन्तपुर क्षेत्रबाट ३१ जनालाई महानगरीय प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए। उनका अनुसार वृत्त बानेश्वरले २६, वृत्त स्वयम्भूले २०, वृत्त बालाजुले १२ जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएकामध्ये सामान्य प्रकृतिका घटनाहरुमा केही समय राखेर आफन्तको जिम्मा लगाएको छ। कानुन विपरीतका गतिविधिमा संलग्नहरुमाथि भने आवश्यक अनुसन्धान हुने एसपी मैनालीले बताए।

प्रहरीले होलीका लागि लक्षित गरेर लागू गरेको ‘विशेष’ सुरक्षा योजनानुसार सवारी चेक–जाँचमा समेत कडाइ गर्‍यो। बिहीबार नियम मिच्ने ९०६ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

  • ३ चैत २०७८, बिहीबार २०:३४ मा प्रकाशित
  • Nabintech