नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको टिकट वितरणमा चुनाव जित्नेबाहेक अरु उद्देश्य राख्न नहुने बताएका छन् ।
उनले निर्वाचनमा टिकट वितरणमा अन्याय हुन नदिने पनि स्पष्ट पारेका छन् ।
वुधबार संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिकाका मेयरसम्म जो–जो अहिले जितेका छन्, राम्रो काम गरेकाहरूलाई टिकटमा पहिलो प्राथमिकता दिइने ओलीको भनाइ छ ।
ओलीले भने, ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने । कतै नराम्रो गरेकालाई बदमासी गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ । यो चुनाव पार्टीले जित्नका लागि हो ।’
त्यस्तै, अध्यक्ष ओलीले ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने समेत बताए ।
त्यस्तै, सरकारले संसदको अधिवेशन हठात अन्त्य गर्नुले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लम्ब्याउने र अदालत प्रयोग गरेर आफू अनुकूल काम गर्ने उद्देश्य भएको बताए ।
बैठकपछि प्रतिक्रिया दिँदै प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीले स्थानीय चुनावमा एमाले एक्लै लड्ने बताएको जनाएका दिए ।
ओलीले सकेसम्म सर्वसम्मतिका साथ उम्मेदवार छान्ने प्रक्रियामा सहजीकरण गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
२ चैत २०७८, बुधबार १८:०९ मा प्रकाशित