नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटबारे जिम्मेवारी तोकेको छ ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको जिम्मेवारी तोकेको हो ।
पार्टीका विभिन्न तहलाई वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी तोकिएको छ ।
वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीको जिम्मेवारीमा पर्नेछ ।
यसैगरी, महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने भने जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जनाएका छन् ।
त्यस्तै, उम्मेदवार छनोटको मापदण्ड भने आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटिको बैठकले गर्ने भएको छ ।
१ चैत २०७८, मंगलबार २०:०१ मा प्रकाशित