९ असाेज २०७९, आईतबार
हकप्रद शेयर आउने हल्लाले युनाइटेड इदि मार्दीको शेयर ४ दिनदेखि १० प्रतिशतका दरले बढ्याे, ६३६ बाट सुरु भएकाे १०१०.१० रुपैयाँ पुग्याे
  • मध्यमार्ग

युनाइटेड इदि मार्दी आरबी हाइड्रोपावर लिमिटेड (UMRH) विगत ५ दिनदेखि अस्वभाविक रुपमा कारोबार बढ्नुका साथै हरेक दिन १० प्रतिशत सर्किट लागेर बढेको छ। यो कम्पनी शेयर बुधबार पनि १० प्रतिशतले बढेर १०१०.१० रुपैयाँमा बजार बन्द भएको छ।

गत हप्तासम्म दैनिक १ सयभन्दा कम कारोबारमा केही लाख रुपैयाँको मात्र कारोबार हुने गरेको थियो यस कम्पनीकाे शेयर गत हप्ताको बिहीबारदेखि भने कारोबार रकम र कारोबार संख्यामा ह्वात्तै बढेको देखिएको छ। गत बिहीबार भने ३ सय ३७ पटकको कारोबारमा ५० हजार ६ सय ९६ कारोबारमा ३ करोड ४२ लाख ५१ हजार रुपैयाँको कारोबार भयो। गत बिहीबार भने ६.३२ प्रतिशतले मात्र मूल्यमा वृद्धि भएको थियो भने पछिल्लो चार दिन हरेक दिन १० प्रतिशतले बढेकाे थियाे। यस सातापनि आइतबारदेखि नै निरन्तर सर्किट लेभलमा कारोबार भइरहेको छ। आइतबार ५ सय १० कारोबारमा ५८ हजार ८ सय १५ कित्ता शेयर कारोबार हुँदा ४ करोड २९ लाख ५१ हजार ४ सय २४ रुपैयाँ बराबरको कारोबार भएकाे थियाे। सोमबार पनि ५ सय ९६ कारोबारमा ६२ हजार ५ सय ४६ कित्ता शेयरको कारोबार हुँदा ५ करोड ६ लाख १२ हजार ७ सय ११ रुपैयाँको कारोबार भएकाे थियो। त्यसैगरी, मंगलबार २ करोड ५० लाख रुपैयाँको २७ हजार ३ सय ३७ कित्ता र बुधबार ४ करोड २७ लाख १७ हजार ८ सय ५० रुपियाँ बराबरको ४३ हजार १ सय ११ कित्ता शेयर कारोबार भएको थियाे।

शेयरमूल्यको कुरा गर्दा गत बिहीबार ६ सय ३६ रुपैयाँमा कारोबार खुलेको यस कम्पनीको शेयर बजार बन्द हुँदा ६ सय ९० रुपैयाँ पुगेको थियो भने हरेक दिन सर्किट लेभलमा काराेबार भएर बुधबार बजारबन्द हुँदासम्म यस कम्पनीको शेयर मूल्य १०१०.१० रुपैयाँ पुगेको छ। कम्पनीको शेयरमूल्य ५ दिनमा झन्डै ५८ प्रतिशतले बढेको छ।

बजारमा हकप्रद शेयर आउने हल्लाले सो कम्पनीको शेयर मूल्यले ऐतिहासिक उचाई कायम गरेको हो। यस साताको कारोबारमा सबैभन्दा बढी ४८ नम्बर ब्रोकरले यो कम्पनीको शेयर किनेकाे छ।

कम्पनीले कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा ७ मेगावाट क्षमताको माथिल्लो मार्दि खोला साना जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि व्यापारिक उत्पादन गरिहेको छ।

कम्पनीको चालु आवको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भमा ४ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ १११.५५ रुपियाँ छ भने दोस्रो त्रैमासिकसम्म कम्पनीले ४ करोड ७७ लाख रुपैयाँ कमाएको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २२.७१ रुपैयाँ रहेको छ। बुधबारको मूल्य अनुसार कम्पनीको पीइ रेशियो ४४.४७ रहेको छ। गत वर्ष मात्रै प्राथमिक शेयर निष्काशन गरेर नेप्सेमा सूचीकृत भएको यस कम्पनीले अहिलेसम्म लाभांश वितरण गरेको छैन।

  • १२ फागुन २०७८, बिहीबार २०:५७ मा प्रकाशित
  • Nabintech