१७ असाेज २०७९, सोमबार
मृत्यु भइसकेका चारसहित २० जनाविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

एक लाख ६९ हजार ५१ रुपैयाँ बिगो मागदाबी

  • मध्यमार्ग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका चारसिहत २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तनहुँको एक विद्यालयको जग्गा व्यक्तिलाई दिलाएको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। अख्तियारले प्रतिवादी बनाएकामा प्राधानाध्यापक समेत छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविका विद्यालय व्यवस्थापन समितिका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरि कुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खड्कबहादुर बानियाँविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसूर गरेको अख्तियारले जनाएको छ।

तर, उनीहरुमध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खड्कबहादुर बानियाँको मृत्यु भइसकेको पाइएको छ। मृत्यु भएपनि मृतक व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले निजहरुले बिक्री गरेको जग्गाको रकम असुल गराउने प्रयोजनको लागि मात्र उनीहरूलाई प्रतिवादी कायम गरी मागदाबी लिइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन्।

तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानुनी रुपमा बिक्री वितरण गरेको खुलेको अख्तियारले उल्लेख गरेको छ।

विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैंले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रुपमा भोगचलन गर्नेगरी बिक्री गरेको पाइएको अख्तियारका प्रवक्ता भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैंले घडेरी नम्बर कायम गरी सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्दिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धन बहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई १ लाख ६९ हजार ५१ रुपैयाँ दिई भोगचलन गरेको देखिएकाले उनीहरुलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

  • ३० फागुन २०७८, सोमबार २१:२० मा प्रकाशित
  • Nabintech