मकवानपुर जिल्लाको हेटौँडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक काठमाडौँमा सम्पन्न भयो ।
सोमबार भएको बैठकमा भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमल प्रसाद पोखरेलले सह–अध्यक्षता गरे ।
बैठकमा परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे समिक्षा भएको भारतीय दुतावासले जनाएको छ ।
समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।
कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको जनाएको छ ।
बैठकका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेको प्रति भारत सरकारलाई धन्यवाद दिएको छ ।
भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गर्यो ।
दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पर्ने मितिमा गर्ने सहमति भयो ।
३० फागुन २०७८, सोमबार १९:०२ मा प्रकाशित