९ असाेज २०७९, आईतबार
नेष्डो समृद्ध लघुवित्तको आईपीओमा साढे १४ लाखभन्दा बढीको आवेदन
  • मध्यमार्ग

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे १४ लाख भन्दा बढी आवेदनबाट २२.५२ गुणा बढी शेयर माग भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५:५१ बजेसम्ममा १४ लाख ७६ हजार ३१७ जनाको आवेदनबाट एक अर्ब ७४ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७४ लाख ४० हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको हाे ।

यो सर्वसाधारणलाई छुट्टाएको ७ लाख ७४ हजार ५६३ कित्ताको २२.५२ गुणा बढी हुन आउँछ ।

लघुवित्तले फागुन ११ गते बुधबारदेखि जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

  • १२ फागुन २०७८, बिहीबार २३:५२ मा प्रकाशित
  • Nabintech