एनआईसी एसिया बैंकले चैत २० गते २४औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले लाभांश प्रस्तावबिनै साधारण सभा गर्न लागेको हो।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो।
तर, नियामक नेपाल राष्ट्र बैंकले बैंकको लाभांश अस्वीकृत गरेपछि प्रस्तावित लाभांश रद्द भएको थियो। केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो।
एनआईसी एसियाले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ।
यस्तै, संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने अजेन्डा छ। बैंकको सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ।
सभा प्रयोजनका लागि चैत ८ गतेदेखि बुक क्लोज हुने भएकाले चैत ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सहभागिता जनाउन सक्नेछन्।
३० फागुन २०७८, सोमबार ००:३४ मा प्रकाशित