सर्जक प्रकाश सपुतले शुक्रबार एउटा गीत सार्वजनिक गरे ‘पीर’। मूलत: माओवादी आन्दोलनमा लागेका लडाकुलाई शान्ति प्रकियापछि नेतृत्वले बेवास्ता गर्दा तिनले भोग्नुपरेको नियती गीतको भिडियोमा देखाउन खोजिएको छ।
प्रकाश स्वयंको परिकल्पना, निर्देशन र स्वर रहेको गीतमा महिला भोकल सम्झना भण्डारीको छ। जसै गीत सार्वजनिक भयो यसको चर्चा र आलोचना भइरहेको छ। यिनै चर्चा र आलोचनाबीच गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ।
भिडियोमा देखाइएका अरु दृश्यमाभन्दा पनि पूर्वलडाकु महिला देह व्यापारमा लागेको र पूर्व लडाकु पुरुष परस्त्री (देश व्यापारमा संलग्न) गमन गर्न गएको दृश्यमा माओवादी पक्षको आपत्ति छ।
आइतबार मात्रै नेकपा माओवादी केन्द्रनिकट ४ संगठनले गीतको भिडियो तत्काल युट्युबबाट हटाउन आग्रह गरे। नहटाए कानुनी उपचार खोज्ने चेतावनी दिए।
माओवादी केन्द्रनिकट चार संगठनले निकालेको विज्ञप्ति।
जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै गीतको भिडियो तत्काल युट्युब च्यानलबाट हटाउन भनेका छन्।
‘२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्युतीयकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ।
यता, नेकपा एमालेनिकट युथ फोर्स नेपालले भने गायक सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न भनेको छ। धम्की नरोकिए प्रतिकार गर्ने युथ फोर्सको विज्ञप्तिमा उल्लेख छ।
‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ। तर, पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाईसीयल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एमालेनिकट युथ फोर्सले निकालेको विज्ञप्ति।
कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुने भन्दै। कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई नहुने युथ फोर्सको भनाइ छ।