२० असाेज २०७९, बिहीबार
आइतबार प्रतिनिधि सभा बैठक बस्दै, प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफलको समय तोकिने
  • मध्यमार्ग

प्रतिनिधि सभाको बैठक आइतबारका लागि बोलाइएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि सम्भावित दुई कार्यसूची सार्वजनिक गरिएको छ।

संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूची अनुसार आइतबार बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश (निलम्बित) चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन्।

राणाविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए।

प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्‌मा अवरोध गरिरहेको एमाले पनि सहभागी छ। आफैं कार्यविधि बनाएर र प्रतिनिधि सभाको नियमावली अनुसार राणाविरुद्धको महाभियोगमाथि समितिले काम सुरु गरेको तीन महिनाभित्र छानबिन प्रतिवेदन दिनुपर्ने छ।

उक्त समितिको प्रतिवेदन पुन: प्रतिनिधि सभामा पेस भएर छलफल हुने छ। छलफलपछि संशोधन आवश्यक नभएमा पारित गर्ने/ नगर्ने अंकगणितमा प्रवेश गर्ने छ।

प्रतिनिधि सभाका दुई तिहाइ बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा राणा पदमुक्त हुनेछन्। प्रस्ताव पारित हुन सकेन भने उनी फेरि सर्वोच्च फर्कने छन्। त्यसो हुँदा राणाले आगामी मंसिरसम्म सर्वोच्चको नेतृत्व गर्न पाउनेछन्।

आइतबार बस्ने बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ।

  • २८ फागुन २०७८, शनिबार १९:४१ मा प्रकाशित
  • Nabintech