९ असाेज २०७९, आईतबार
राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : मुख्यमन्त्री पोखरेल
  • मध्यमार्ग

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

तनहुँको व्यास नगरपालिकाले शनिबार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए।

व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दूरी पार गर्दै व्यास नगरपालिका–८ पुलिमराङमा समापन भएको हो।

कार्यक्रममा मुख्यमन्त्रीले भने, ‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो। अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं। आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ।’

मेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरुले पनि त्यसको अनुुसरण गर्नुपर्ने बताए।

गएको चुनावमा भए भरका कम्युनिस्ट मिलेर तलदेखि माथिसम्म विजयी भए पनि दलहरुबीचकै मुटावका कारण राजनीतिक उतारचढाव आएको उनको भनाइ थियो। अब कांग्रेसको नेतृत्वमा गठनबन्धन सरकार मिलेरै चुनावमा जाने र ३ तहकै चुनावमा विजय हासिल हुने मुख्यमन्त्री पोखरेलले बताए।

उनले संघीयताको पहिचान भनेको प्रदेश सरकार रहेको भन्दै नागरिकका समस्या सुल्झाउन हरसम्भव प्रयास गरिरहेको बताए। विकास निर्माण मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको उनको दाबी थियो।

खेलकुदको प्रंसगमा उनले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको हब बनाउनुपर्ने बताए। अबको केही महिनामा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको र त्यसको तयारीमा प्रदेश जुटेको पनि उनको भनाइ थियो।

खेलमार्फत् दुई महत्त्वपूर्ण स्थललाई जोड्ने गरी सुरु गरेको अल्ट्रा म्याराथन व्यास नगरपालिकाको दूरदर्शी कार्य रहेको उनले बताए।

आर्मीका बेदबहादुरलाई उपाधि
व्यास नगरपालिकाले बर्सेनी गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले हात पारेका छन्।

पाँचौं संस्करणको म्याराथनमा सुनुवारले मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दूरी २ घण्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरेका हुन्।

नेपाली सेनाकै मोहनदेव जोशी ३ घण्टा ५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सेनाकै नवराज साउद ३ घण्टा ९ मिनेटमा दूरी पार गरी तेस्रो भए। सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना भए।

आयोजक व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेका अनुसार विजेताले ८५ हजार ७८, ६५ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन्। यसैगरी, दोस्रोले ५५ हजार ७८ तथा तेश्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गरेका छन्। म्याराथनमा १ सय ७३ जना धावक सहभागी थिए।

  • २८ फागुन २०७८, शनिबार १८:४७ मा प्रकाशित
  • Nabintech