१७ असाेज २०७९, सोमबार
भोटेबहालको स्कुलबाट हराएका दुई बालिका थानकोटमा भेटिए, प्रहरीले लगायो आफन्तको जिम्मा
  • मध्यमार्ग

काठमाडौंको भोटेबहालस्थित ईपीएस बोर्डिङ स्कुलबाट घर फर्किने क्रममा हराएका दुई बालिकालाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ। कक्षा ५ मा अध्ययनरत दीपिका श्रेष्ठ र श्रीलेखा सामन्तलाई प्रहरीले शुक्रबार राति ८ बजे फेला पारी आफन्तको जिम्मा लगाएको हो।

यी दुई बालिका स्कुलबाट घर नआई सम्पर्कविहीन भएको भन्दै अभिभावकले शुक्रबार बेलुका खोजतलासका लागि महानगरीय प्रहरी बृत्त, जनसेवामा जानकारी गराएका थिए।

तत्कालै जनसेवाबाट प्रहरी नायब उपरीक्षकसमेतको प्रहरी टोली बालिकाद्वयको खोजीमा परिचालित भएको थियो। साथै मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाडौंस्थित सम्पूर्ण प्रहरी कार्यालय र बाहिर जानसक्ने सम्पूर्ण नाकाहरुमा तस्बिरसहित कडा चेकजाँचको व्यवस्था मिलाइएको थियो।

सोही क्रममा शुक्रबार राति ८ बजे महानगरीय प्रहरी बृत्त थानकोटबाट परिचालित प्रहरीले बालिकाहरुलाई थानकोटस्थित चन्द्रागिरी जाने सडकखण्डमा फेला पारेको थियो।

त्यसपछि उनीहरूका अभिभावकहरु दीपक श्रेष्‍ठ र सुदीप सामन्तसँग सम्पर्क गरि जनसेवाको टोलीले राति करिब १० बजे दुई बालिकालाई अभिभावकको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए। घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको उनले बताए।

  • २८ फागुन २०७८, शनिबार १८:०८ मा प्रकाशित
  • Nabintech