९ असाेज २०७९, आईतबार
सुन चाँदीका गहना लुटेर भाग्दाभाग्दै प्रहरी फन्दामा परे यी व्यक्ति
  • मध्यमार्ग

प्रहरीले सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१६, माछापोखरी चोकबाट एक व्यक्तिको सुन,चाँदीका गरगहना बोकेको झोलासहित लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिको प्रहरीले नाम खुलाएको छैन। उनलाई परिवर्तित बालाजु ०७८(८८) कोड नाम दिइएको छ।

ती व्यक्तिले नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भइ हाल काठमाडौं बालुवाटार बस्ने २५ वर्षीय राज कुमार तामाङको साथमा रहेको सुन,चाँदीका गरगहना बोकेको झोलासहित लुटपाट गरी भागेका प्रहरीले जनाएको छ।

उक्त सूचना पाउने बित्तिकै महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली परिचालन गरी लुटपाट गरी भाग्दै गरेको अवस्थामा उनलाई कुमारी गल्लीबाट पक्रा गरेको हो।

ती व्यक्तिबाट लुटिएको सुन, चाँदीका गरगहनाहरु समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।

उनको साथबाट एक तोलाको सुनको मंगलसुत्र एक थान, चाँदीको ब्रास्लेट एक थान, रातो पोते माला एक थान, गरगहना राख्ने झोला एकथान र कालो रङगको झोला एक थान बरामद भएको छ।

उक्त घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा ती व्यक्ति‘परिवर्तित बालाजु ०७८(८८)’उपर चोरी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बलाजुबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २८ फागुन २०७८, शनिबार ०९:३७ मा प्रकाशित
  • Nabintech