१७ असाेज २०७९, सोमबार
आजका लागि तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित
  • मध्यमार्ग

आजका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भन्सार विभागले जनाएको छ।

उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन गरेको जनाएको छ। परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको थियो।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो।

नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक/समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्षअघि रिट दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चले तत्काल परीक्षा सञ्चालनमा रोक लगाएको हो।

निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै उच्चले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ।

यसअघि गएको जेठ २२ र माघ २९ गतेका लागि तोकिएको परीक्षा पनि स्थगित भएको थियो।

२०७७ चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो। ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन्।

 

  • २८ फागुन २०७८, शनिबार ०८:३३ मा प्रकाशित
  • Nabintech