रुसले युक्रेनमा आक्रमण गरेको दुई साताको अवधिमा झण्डै ६ हजार रुसी सैनिक मारिएको अमेरिकाले अनुमान गरेको छ।
बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले उक्त अनुमान गरेका हुन्।
यस्तै, करिब १८ हजार रुसी सैनिक घाइते भएको बताइएको छ। प्रायः युद्धमा घाइते सैनिकको संख्या मृतकको संख्याभन्दा तीन गुणा हुने गर्छ। तर, आफ्ना नागरिकहरुको मनोबल उच्च बनाउनका लागि मृतकको संख्या खुलाउने गरिँदैन।
नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित संख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ।
उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही संघर्षसँग तुलना गरेका छन्।
यता युक्रेनले भने १२ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। रुसले भने गत साता ५ सय सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो।
२७ फागुन २०७८, शुक्रबार ०८:३२ मा प्रकाशित