सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण नि:शुल्क रुपमा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।
यस्तो परीक्षण वर्षमा एकपटक नि:शुल्क गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले पेस गरेको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयले उक्त अस्पताल निर्माणका लागि एक कार्यदलमार्फत् काम अघि बढाइएको जनाएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा समेत गरेका छन्।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्। मन्त्री खतिवडाले स्वास्थ्य सेवा दिवस २०७८ का दिन मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए।
२६ फागुन २०७८, बिहीबार २१:२३ मा प्रकाशित