९ असाेज २०७९, आईतबार
विप्लवनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शाही कांग्रेसमा
  • मध्यमार्ग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय नेता नेपाली कांग्रेस प्रवेश गरेका छन्।

जाजरकोटको बारेकोटमा आयोजित अगुवा कार्यकर्ता भेलामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं कर्णाली प्रदेश संयोजक प्रेमबहादुर शाही कांग्रेस प्रवेश गरेका हुन्।

उनलाई कांग्रेस जाजरकोटका सभापति वेदराज सिंह, सहसचिव एवं प्रवक्ता छबि पन्त, महासमिति सदस्य एवं बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह लगायतले स्वागत गरे।

शाहीसँगै गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट नलगाड नगरपालिका-५ मा वडाध्यक्षका उम्मेदवार बनेका खड्क बहादुर सिंह, बारेकोट-२ का पठबहादुर नेपाली, बारेकोट-७ का परमबहादुर बस्नेतसहित दुई दर्जन व्यक्तिहरू प्रवेश गरेको जाजरकोट कांग्रेसका प्रवक्ता पन्तले बताए।

नेपाली कांग्रेस जाजरकोटले अहिले जिल्लाव्यापी अगुवा कार्यकर्ता भेला गरिरहेको छ। त्यसक्रममा विभिन्न पार्टी परित्याग गरेर नेता/कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका पन्तले बताए।

केही दिन पहिले मात्रै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी जाजरकोटका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य योगेन्द्रबहादुर सिंह पनि कांग्रेस प्रवेश गरेका थिए।

  • २६ फागुन २०७८, बिहीबार २१:१० मा प्रकाशित
  • Nabintech