१७ असाेज २०७९, सोमबार
रात्रिकालीन व्यवसायमा लागेको प्रतिबन्ध हट्यो, अब रातभर सञ्चालन गर्न पाइने
  • मध्यमार्ग

सरकारले रात्रिकालीन व्यवसायमा लगाएको प्रतिबन्धन हटाएको छ। यसअघि कोरोना महामारीका बेला बन्द गरिएको रात्रि व्यवासाय कोरोना कम हुँदै गएसँगै १० बजेसम्म सञ्चालन गर्न दिने गरिएको थियो। तर, अब कोरोना संक्रमणदर घटेपछि यस्ता व्यवसाय रातभर सञ्चालन गर्न दिने गृह मन्त्रालयले निर्णय गरेको छ।

गृहको यो निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसायलाई २४सै घण्टा सञ्चालन गर्ने बाटो खुलेको छ।

व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनासो गरेका थिए। त्यसपछि रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए।

कार्यदलको सिफारिस अनुसार गृहले रात्रिकालीन व्यवसायलाई २४सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयअनुसार अब प्रहरीले अलग्गै सुरक्षा विधि बनाउनुपर्ने छ। गृहले सबै जिल्लाका प्रहरी प्रशासनहरुलाई २४सै घण्टा व्यवसाय खोल्ने वातावरण बनाउन पत्रचारसमेत गरिसकेको छ।

  • २५ फागुन २०७८, बुधबार २२:५१ मा प्रकाशित
  • Nabintech