१७ असाेज २०७९, सोमबार
भूमि आयोगको व्यक्ति भन्दै सुकुम्बासीबाट रकम उठाउने दुई जना जेल चलान

जसले काठमाडौंमा चार आना जग्गा दिलाउने भन्दै प्रतिव्यक्ति ५० हजार असुलेका थिए

  • मध्यमार्ग

आफूलाई भूमि आयोगको व्यक्ति भन्दै सुकुम्बासीबाट रकम उठाउने दुई जनालाई अदालतले जेल चलान गरेको छ।

झापाको भद्रपुर नगरपालिका-३ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-४ का ४४ वर्षीय उद्धव भण्डारीलाई काठमाडौं जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो।

उनीहरूले ‘भूमि आयोगका मान्छे हौं, जमिन दिलाइदिन्छौं’ भनी सुकुम्बासीबाट रकम लिइरहेको अवस्थामा प्रहरीले माघ २३ गते काठमाडौंको बसन्तनगरमा रहेको एक क्याफेबाट पक्राउ गरेको थियो।

उनीहरूले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजु खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

जनही ५० हजारका दरले रकम मागेर उनीहरूले सुकुम्बासीलाई फारम समेत भराएको पाइएको छ। ५० हजार तिरेर फारम भरे काठमाडौंमा ४ आना जग्गा पाइने भन्दै उनीहरूले ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।

उनीहरूको साथबाट ल्यापटप, चार्जर तथा माउस, प्रिन्टर, अनुसूची ३ (दफा ६ को उपदफा २ सँग सम्बन्धित) (भूमीहिन दलित, भूमीहिन सुकुम्बासीले भर्ने निवेदन फाराम) लेखिएको फारमहरु, अनुसूची ४ (दफा ६ को उपदफा (२) सँग सम्बन्धित अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न व्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर, नोकिया कम्पनीको मोबाइल, आइफोन र किप्याडसहितको मोबाइल बरामद भएको थियो।

घटनाका विषयमा महानगरीय प्रहरी वृत्त बालाजुले अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले उनीहरूलाई यही फागुन २३ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको र सोही अनुसार कारागार चलान भएको एसपी मैनालीले बताए।

  • २५ फागुन २०७८, बुधबार २२:१८ मा प्रकाशित
  • Nabintech