२० असाेज २०७९, बिहीबार
कर्मचारी युनियनको केन्द्रीय सदस्यमा जाजरकोटका धनबहादुरको ह्याट्रिक
  • मध्यमार्ग

हालै सम्पन्न नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा जाजरकोटका धनबहादुर बिक केन्द्रीय सदस्य निर्वाचित भए। उनी पहिलोपटक युनियनको केन्द्रीय समितिमा पुगेका होइनन्।

उनी यसअघि दुईपटक युनियनको केन्द्रीय सदस्य भइसकेका छन्। उनको तेस्रो कार्यकाल सुरु भएको छ। अर्थात्, कमर्चारी युनियनको केन्द्रीय समितिमा उनको ह्याट्रिक पूरा भएको छ।

उनी निजामती कर्मचारीका अलवा विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन्। हाल भेरी नगरपालिका जाजरकोटको पशुपंक्षी शाखामा अधिकृत छैठौं पदमा कार्यरत धनबहादुर २०५५ सामा निजामती सेवामा प्रवेश गरेका हुन्।

उनी २०५५ माघ १३ गते लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट नायब पशु सेवा प्राविधिकमा सिफारिस भएका थिए। सोही वर्ष २८ गतेदेखि जिल्ला पशु सेवा कार्यालय जाजरकोटबाट उनले सेवा सुरु गरे। २०६७ सालमा पशु सेवा प्राविधिक पदमा बढुवा भएका उनी २०७६ जेठ १ गतेदेखि भेरी नगरपालिकामा अधिकृत छैठौं (पशुपंक्षी शाखा) का रूपमा कार्यरत छन्।

धनबहादुर २०६४ पुसमा भैरहवामा भएको नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए। उनी दोस्रोपटक २०६९ सालमा पनि केन्द्रीय सदस्य निर्वाचित भए। २०७७ देखि यही फागुनसम्म उनी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सल्लाहकार थिए। र, मंगलबार सम्पन्न नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनबाट उनी फेरि केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०२७ चैत १३ गते साविक खलंगा गाउँ विकास समिति-२, हाल भेरी नगर पालिका-३ स्याँलामा सामान्य परिवारमा जन्मिएका उनी निजामी कर्मचारी युनियनको केन्द्रीय सदस्यमा ह्याट्रिक गर्ने सम्भवत: जाजरकोटको पहिलो कर्मचारी हुन्।

यो पनि पढ्नुहोस् – कर्मचारी युनियनमा जाजरकोटबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित

करिब १२ वर्षको उमेरमा हुनुमान प्रावि थाप्लेबाट पढाइ सुरु गरेर उनले त्रिभुवन मावि खलंगाबाट ७ कक्षा पास गरि २०४४ सालमा कर्णाली प्राविधिक शिक्षालयमा पढाइ थाले। उनले सोही प्राविधिक शिक्षालय जुम्लाबाट २०४८ सालमा प्राविधिक एसएलसी उत्तीर्ण गरे।

२०४९ भदौ ३ देखि २०५५ असारसम्म एक अन्तर्राष्ट्रिय संस्था अनौपचारिक शिक्षा परियोजना, युनाइटेड मिसन टू नेपाल जाजरकोटमा काम गर्ने अवसर पाएका उनले २०५३ देखि २०५५ सम्म कर्मचारी एसोसिएसनको अध्यक्ष भएर समेत काम गरे।

२०५५ को स्थानीय निर्वाचनमा खलंगा-२ को वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भइ चुनावी मैदानमा होमिएका उनले जित निकाल्न भने सकेनन्। त्यसपछि उनले निजामती सेवाको बाटो तय गरे।

नेपाल स्काउटमा आबद्ध रहेका उनी पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटको स्थापनाकालदेखि नै कार्यसमिति सदस्य छन्। सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्र जाजरकोटको सदस्य समेत रहेका उनी विभिन्न समयमा सामाजिक कार्यमा सहभागिता जनाउने गरेका छन्। उनले आफूलाई साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन्। बाँकी जीवन पनि जनसेवा र सामाजिक सेवामै बिताउने उनको प्रण छ।

  • २५ फागुन २०७८, बुधबार २०:२७ मा प्रकाशित
  • Nabintech