१० मंसिर २०७९, शनिबार
काठमाडौं सरस्वतीनगरको डसना कारखानामा आगलागी, ३४ लाखको क्षति

सवा एक घण्टामै आगो नियन्त्रण

  • मध्यमार्ग

काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरको एक सिरक डसना कारखानामा आगलागी हुँदा करिब ३४ लाख बराबरको क्षति भएको छ।

सरस्वतीनगरस्थित भारत मोतिहारी घर भएका ४५ वर्षीय रहिस मन्सुरीले सञ्‍चालन गरेको सिरक डसना बनाउने टहरामा विद्युत सर्ट भएर मंगलबार बेलुका आगलागी भएको प्रहरीले जनाएको छ। आगो करिब सवा एक घण्टापछि नियन्त्रणमा आएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षकहरू, प्रहरी वृत्त गौशाला, महाराजगञ्‍ज र प्रहरी प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षकसहितक १२५ जना प्रहरी आगो नियन्त्रणमा खटिएका थिए।

त्यसैगरी नेपाली सेनाको कालीदल गण (इ), गौचरबाट उप-सेनानीसहितको ३७ जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल, विपद गण गौचरबाट-९ जना सुरक्षाकर्मी परिचालित भई ४ वटा दमकल (जुद्ध बारुणयन्त्र काठमाडौंबाट्त-२, भक्तपुरबाट-१ र ललितपुरबाट-१) को सहायतामा राति ९ बजेतिर आगो पूर्ण रुपमा नियन्त्रण लिन सफल भएको प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले बताए।

सिरक डसना बनाउने टहरा र सँगै रहेको दिनेश श्रेष्‍ठको ५ तले घर समेतमा गरी अन्दाजी ३४ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। तत्काल उद्धारमा खटिएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ।

  • २५ फागुन २०७८, बुधबार ०७:५७ मा प्रकाशित
  • Nabintech