१७ असाेज २०७९, सोमबार
काठमाडौंमा एकैपरिवारका पाँच जना अचेत अवस्थामा भेटिए, एक जनाको मृत्यु

विष सेवन गरेको प्रारम्भिक अनुमान, खुलेन विषादीको नाम

  • मध्यमार्ग

काठमाडौंमा एकैपरिवारका पाँच जना अचेत अवस्थामा भेटिएका छन्। त्यसमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार राति अन्दाजी साढे ९ बजेतिर काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडापौवास्थित एउटा २ तले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बस्ने काठमाडौं महानगरपालिका-१५ डल्लु स्थायी घर भएका सुवर्णमान प्रधान र उनका परिवारका सदस्यहरू अचेत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश राज मैनालीले बताए।

उनीहरूले विषादी सेवन गरी बेहोस रहेको भन्ने खबर आउने बित्तिकै प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थलमा पुगी सबै उनीहरूलाई तत्काल उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो।

त्यसमध्ये उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई अस्पतालले राति साढे १० बजेतिर मृत घोषणा गरेका थिए। ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीय मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको उपचार भइरहेको एसपी मैनालीले बताए। मैनालीका अनुसार उनीहरू सबै बोल्न नसक्ने अवस्थामा छन्।

उनीहरूले कुन विषादी किन प्रयोग गरे भन्ने नखुलेको र घटनाको प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए।

  • २४ फागुन २०७८, मंगलबार ०७:२८ मा प्रकाशित
  • Nabintech