९ असाेज २०७९, आईतबार
नेपाल बारको नेतृत्वका लागि दलीय भागबण्डा, सत्ता गठबन्धनसँग भिड्दै एमालेनिकट वकिलहरू
  • मध्यमार्ग

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दलगत रुपमा प्रतिस्पर्धा हुने भएको छ।

सत्तारुढ दलनिकटका कानुन व्यवसायीहरुले पदमा ‘भागबण्डा’ मिलाएर प्यानल बनाएका छन्। यस्तै, नेकपा एमालेनिकट कानुन व्यवसायीहरुको अर्को प्यानल बन्ने भएको छ। एमालेनिकट कानुन व्यवासायीहरुले बाँकी रहेका दलनिकट कानुन व्यवसायीसँग गठबन्धन बनाउन छलफल तीव्र पारेका छन्।

बारको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीबीच गठबन्धन हुन लागेको हो। बारमा लोकतान्त्रिक पक्षका कानुन व्यवसायीहरुको बाहुल्यता रहँदै आएको छ। बार कानुन व्यवसायीहरुको छाता संगठन हो।

गठबन्धनको प्यानलमा कांग्रेसनिकट कानुन व्यवसायीले बारको अध्यक्ष पाउने सहमति भएको छ। यस्तै, माओवादी केन्द्रनिकट कानुन व्यवसायीले महासचिव र एकीकृत समाजवादीले उपाध्यक्ष पाउने सहमति बनेको छ।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसनिकट कानुन व्यवसायीका तर्फबाट बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेल र गोपालकृष्ण घिमिरे आकांक्षी देखिएका छन्।

पोखरेल अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए भने घिमिरे कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डीएलएका पूर्वअध्यक्ष हुन्। उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रमुख निर्वाचन अधिकृत थिए।

महासचिवमा माओवादी केन्द्रनिकट कानुन व्यवसायी दिनमणि पोखरेलको चर्चा  छ। उनी यसअघि पनि महासचिवमा पराजित भएका थिए।

बारको २५ सदस्य कार्यसमितिमा कांग्रेसनिकट कानुन व्यवसायीहरुले अध्यक्ष, कोषाध्यक्षसहित १५, माओवादी केन्द्र र एकीकृत समाजवादीले १०/१० सिट पाउने सहमति भएको छ।

बारको निर्वाचनका लागि सोमबार गते उम्मेदवारी दर्ता हुँदै छ। बारले देशभरबाट निर्वाचनका लागि ३५ वटा मतदान केन्द्र तोकेको छ। २०७८ चैत १९ गते देशैभरबाट मतदान गरी नयाँ कार्यसमिति चयन गरिने छ।

  • २२ फागुन २०७८, आईतबार २१:३६ मा प्रकाशित
  • Nabintech